नागपुर– श्रीलंका विरुद्धको तीन टेस्ट सिरिजको दोस्रो टेस्टमा भारत विजयी भएको छ। चौथो दिनमै जित निकाल्ने क्रममा भारतले श्रीलंकालाई एक इनिङ र २३९ रनले पराजित गरेको हो। जितसँगै भारतले सिरिजमा १–० को अग्रता लिएको छ। यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
४ सय ६ रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन १ सय ६६ रनको झिनो योगफलमा अलआउट भयो। श्रीलंकाका लागि कप्तान दिनेश चन्डीमालले सर्वाधिक ६१ रन जोडे।
श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ४ विकेट लिए। आश्विनले पहिलो इनिङमा पनि ४ विकेट नै लिएका थिए। योसँगै आश्विन टेस्टमा सबैभन्दा बढी ३ सय विकेट लिने खेलाडी बनेका छन्। आश्विनले ५४ टेस्टमा ३ सय विकेट पूरा गरेका हुन्।
यसअघि भारतले ६ विकेटको क्षतिमा ६ सय १० रन बनाएर पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। भारतका लागि चार ब्याट्सम्यानले सतक प्रहार गरेका थिए। मुरली विजयले १ सय २८ र चेतेश्वर पुजाराले १ सय ४३ रन जोडेका थिए। कप्तान विराट कोहलीले दोहोरो सतक बनाउने क्रममा २ सय १३ र रोहित शर्माले १ सय ३ रन जोडेका थिए।
श्रीलंका भने पहिलो इनिङमा २ सय ५ रनमै समेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।