काठमाडाैं- सरकारले आफ्नो पहिलो वर्षे कार्यकाल सोचेभन्दा बढी सफल भएको दाबी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्नेक्रममा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सफल भएको सरकारले दाबी गरेको हो।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम समिक्षा गर्नेक्रममा यो सरकारको इतिहासमै सबैभन्दा उत्कृष्ट काम गर्न सफल भएकोसमेत उल्लेख गरिएको छ।
‘मेरो सरकार समृद्धिको आधार बनाउन सफल भयो, हरेक दिन एक कदम अगाडि बढेर काम गरिरहेको छ', नीति तथा कार्यक्रममा भनिएको छ।
सात दशक लामो राजनैतिक चुनौती पार गर्दै यो उपलब्धी हासिल गर्न सम्भव भएको भन्दै सुरु गरिएको नीति तथा कार्यक्रममा सरकारले आफ्नो 'बखान' गर्न मात्रै धेरै शब्द खर्च गरेको देखिन्छ।
‘विकास सम्भव छ, हाम्रै पालामा सम्भव छ र हामीलाई त्यो आत्मविश्वास पनि छ। मेरो नेतृत्वको सरकारले लिएको आर्थिक नीतिबाट उत्साहजनक उपलब्धि हासिल भएको छ। अन्तरिक्षमा आफ्नै स्याटेलाइट छ। तुइन विस्थापित भएका छन्’, नीति तथा कार्यक्रममा भनिएको छ।
नीति तथा कार्यक्रममा सरकारद्वारा बखान गरिएका अन्य विषयहरु:
- मेरो नेतृत्वको सरकारले सबै बालबालिकालाई विद्यालय शिक्षाको प्रत्याभुति गरेको छ।
- आर्थिक नीति कार्यान्वयनमा सरकार सफल भएको छ।
- एक वर्षमा १ हजार ६ सय किमी सडक कालोपत्रे भएको छ।
- पूर्व-पश्चिम राजमार्ग ४ लेनको बनिरहेको छ।
- मित्रराष्ट्रहरु सफल कुटनीतिक सम्बन्ध स्थापना गरेको छ।
- निशुल्क विद्युत मिटर बाँढिएको छ। विद्युत उत्पादन बढेको छ।
- विद्युत व्यापारका लागि छिमेकी मुलुकहरुमा सम्भावना देखिएको छ।
- आगामी आर्थिक वर्ष इतिहासकै बढी आर्थिक वृद्धिदर भएको वर्षका रुपमा रहेनछ।
- ४ वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर कायम हुनेछ।
- भैरहवा आर्थिक विशेष क्षेत्र सञ्चालनमा आएको छ।
- तातोपानी नाका यसैवर्षदेखि सञ्चालनमा आउने भएको छ।
- डिजिटल नेपालको फेम वर्क विकास भएको छ।
- हुन्डी कारोबार र सुन तस्करीलाई वित्तीय कारोबारमा ल्याइएको छ।
- समृद्धिको इतिहास रच्ने आधार वर्षमा सफलता भएको छ।
- याे वर्ष तीव्र विकासको वर्ष भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।