काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रका आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई सचिवालयमार्फत पठाएको पत्र 'भूलवश सम्प्रेषण गरिएको' प्रेस सल्लाहकार कुन्दन अर्यालले दाबी गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आफ्नै नेतृत्वमा रहेको मन्त्रिपरिषद्को मातहतका मान्त्रालयहरुमा यो वा त्यो आयोजना समावेश गरी दिन पत्र लेख्ने वा आफै अध्यक्ष रहेको संस्थामा, समाचार माध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैं त्यस प्रकारको पत्र पठाउने वा निर्देशन दिने भन्ने कुरै आउँदैन।'

आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर नै भुलवश सम्प्रेषण बताउँदै विज्ञप्तिमा उक्त घटनाबाट प्रधानमन्त्री आश्चर्यचकित र दु:खी भएको पनि उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ का आयोजनाहरु आगामी वर्षको बजेटमा पार्न चैत २९ मा प्रधानमन्त्री कार्यालयबाट योजना आयोगलाई पत्र पठाइएको थियो। ८८ आयोजनाका लागि पठाइएको पत्र बाहिरिपछि निजी सचिवालयले स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको बचाउ गरेको हो।
सम्बन्धित : आफ्नो निर्वाचन क्षेत्रका लागि प्रधानमन्त्रीले मागे विश्वकै अग्लो बुद्धको मूर्तिदेखि भ्युटावरसम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।