राजविराज– जननिर्वाचित प्रतिनिधिले नै ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि सप्तरीमा प्रहरीले निगरानी बढाएको छ।
शुक्रबार राजविराज नगरपालिका वडा नं १३ का अध्यक्ष राजेन्द्रप्रसाद यादवको मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नबोकेको र एउटै मोटरसाइकलमा चार जना चढेको पाइएपछि अध्यक्ष यादव चढेको सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राजविराज ट्राफिक प्रहरी पोस्टका राजेन्द्र मण्डलले बताए।
स १ ब १०६४ नं को मोटरसाइकल चढेर उनी नगरपालिका कार्यालय जाँदै थिए। लाइसेन्स माग गर्दा उनले ट्राफिक प्रहरीलाई अभद्र व्यवहार पनि गरेको मण्डलले बताए।
‘प्रधानमन्त्री चढेको गाडीले त नियम मान्दैन, हामीले मात्रै किन मान्ने?’ भन्दै जवाफ दिएको उनको गुनासो छ।
राजविराजको अन्सारी मिनी मार्केटबाट नियन्त्रणमा लिइएको मोटरसाइकल ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ। मोटरसाइकल नियन्त्रणमा लिएपछि ८५ वर्षिय अध्यक्ष यादव पैदलै कार्यालय पुगेका थिए।
यादवसहित राजविराज नगरपालिकाका कतिपय वडाध्यक्षले चालक राखेर मोटरसाइकल प्रयोग गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।