काठमाडाैं- नेपाल वायुसेवा निगमले जापानको ओसाका उडान निश्चित भएको जनाएको छ। निगमले ६१औं वर्ष प्रवेशसँगै जापानको ओसाकामा नियमित उडान पुनः प्रारम्भ गर्ने भएको हो।
असार १९ गते (जुलाई ४ तारिख) देखि निगमले ओसाकाको नियमित उडान गर्ने भएको हो।
निर्धारित उडान तालिकाअनुसार निगमले सातामा ३ वटा उडान गर्ने गरी ओसाका विमानस्थलबाट अनुमति पाएको हो। निगमले मंगलबार, बिहीबार र शनिबार गरी सातामा ३ वटा उडान गर्नेछ।
काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ बजे काठमाडौं आइपुग्नेछ।
ओसाकामा हुने सबै उडानहरु 'वाइडबडी ए ३३०–२००' विमानबाट हुनेछ। यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो। तत्कालीन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो।
सन् २००० मा जापानबाट काठमाडौंका लागि सबैभन्दा बढी ४१ हजार ७० जनाले नेपाल यात्रा गरेका थिए। जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिब २२ हजार यात्रु आएका थिए। निगमको उडान बन्द भएसँगै यात्रु संख्या पनि घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भएको थियो।
निगमले ओसाका र नारितामा साताको ४ उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने दाबी गरेको छ।
निगमको गृष्मकालीन तालिकाअनुसार काठमाडौं–ओसाका र ओसाका-काठमाडौं उडान एकतर्फी करिब ६ घन्टा ३० मिनेटको हुनेछ। दोश्रो चरणमा जापानको राजधानी टाेकियाेस्थित व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई तदनुरुप प्रक्रिया अगाडि बढाइएको छ।
टोकियोको नारितामा उडान सुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना निगमको छ।
विगतमा काठमाडौं-ओसाकाबीच सन् १९९४ मा सुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएकोे थियो। 'बोइङ-७५७' विमानबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो। तर, अब काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइडबडी विमानबाट सिधा उडान हुने निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।