काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नक्कली प्रमाणपत्र बनाई गैह्र खेलाडीलाई विदेश पठाउने काममा संलग्न राष्ट्रिय खेलकुद परिषदका सदस्यलाई कारबाही गर्न माग गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै संघले गैह्र खेलाडीलाई विदेश पठाउने कार्यमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय र अन्य सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य फत्तबहादुर गुरुङले रुकुमका देवानन्द रोकासँग खेलाडीका रुपमा जापान पठाइदिने भन्दै १० लाख रुपैयाँ लगेका थिए। सदस्य गुरुङले विदेश पठाउनका लागि रोकाको कराँते लगायत खेलका नक्कली प्रमाणपत्र समेत बनाइदिएका थिए।
राखेप सदस्य सचिव केशवकुमार विष्टले घटनामा संलग्न दोषीमाथि २४ घण्टाभित्र कारबाही गर्ने बताएका थिए। सदस्य सचिव विष्टले आवश्यक कारबाही प्रक्रिया अघि नबढाएपछि खेलाडी संघ विरोधमा उत्रिएको हो। संघले खेलाडीको नाममा विदेश पठाउने गिरोहमा संलग्न परिषदका सदस्यलाई कारबाही नगरे खेल प्रशासनविरुद्व आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।
संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कहिल्यै कुनै खेल नखेलेको मानिसलाई प्रमाणपत्र किनबेच मार्फत देशकै ठूलो खेलाडीका रुपमा प्रस्तुत गरेर विदेश पठाउने गिरोहका कारण नेपाली खेलकुद र खेलाडीमाथि कसैले विश्वास नगर्ने वातावरण सिर्जना भएको छ।’
खेलसँग असम्बन्धित व्यक्तिलाई विदेश पठाउने लोभमा खेलाडीको प्रमाणपत्र किन्ने र बेच्ने कार्यले खेलकुद र खेलाडीको बेइज्जत भएको संघको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।