काठमाडौं- हिमाल आरोहण तथा पदयात्रामा निस्केका विदेशी तथा नेपाली नागरिकका लागि पर्यटन विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले स्थानीय मौसमको ख्याल गर्दै आफू र आफ्ना पर्यटकहरुलाई सुरक्षित स्थानमा राख्न तथा कुनै क्षति हुन नदिने गरी प्रबन्ध गराउन सबै सरोकार निकाय र एजेन्सीलाई आग्रह गरेको हो।
‘सरोकारवाला निकाय तथा व्यक्तिगत रुपमा सम्पर्क गरेर हामीले सुरक्षित हुने अपिल गरेका छौं’, पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले भने, ‘हिमालबाट सकेसम्म सुरक्षित हुँदै तल्लो तहमा आउने समेत अपिल भएको छ।'

अहिले हिमाल आरोहणको समय हो। यतिखेर देशका विभिन्न हिमाल आरोहणका लागि १ हजारभन्दा बढी विदेशी तथा नेपाली नागरिक हिमालतर्फ लागेको विभागको भनाइ छ। हिमाल आरोहणमा विदेशीमा ४ सयको हाराहारीमा रहेको घिमिरेको भनाइ छ।
बंगालको खाडीबाट सुरु भएको शक्तिशाली समुद्री आँधी 'फानी'को प्रभाव नेपालमा पनि पर्ने भन्दै यसअघि नै नेपालको मौसम पूर्वानुमान महाशाखा जानकारी गराइसकेको छ। सो समुद्री आँधी नेपाल नजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।