काठमाडौं– नेपाली युथ–१९ क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी कसैले चिनाइरहनुपर्ने नाम होइन। गत वर्ष फागुनमा उनले आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा राष्ट्रिय टोलीबाट ‘डेव्यू’ गर्ने मौका पाएका थिए। पहिलो खेलमै केन्या विरूद्ध ६२ रन बनाएपछि उनी एकाएक नेपाली खेल वृत्तमा चर्चामा आए।
कप्तान पारस खड्का बिरामी भएका कारण राष्ट्रिय टोलीमा स्थान बनाएका दीपेन्द्रले डेव्यूमै उत्कृष्ट ब्याटिङ गरेपछि आफ्नो करिअरमा फर्केर हेर्नुपरेको छैन।
उनले सिनियर टोलीमा यसपछि थप दुई वटा खेल खेल्ने मौका पाए। तर, तिनमा खासै प्रभाव जमाउन सकेका थिएनन्। यही अवस्थामा उनले गत महिना मलेसियामा आयोजना भएको युथ–१९ एसिया कपमा नेपाली टिमको कप्तानी मात्र गरेनन्, भारत जस्तो बलियो र विश्व चर्चित टिमलाई पराजित गर्न अलराउन्ड प्रदर्शन गरे।
अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फम्र्याट र कुनै पनि उमेरसमूहको प्रतियोगितामा भारतलाई नजितेको अवस्थामा दीपेन्द्रले ८८ रन र ४ विकेट लिँदै नेपाललाई ऐतिहासिक जित दिलाएका थिए। यसपछि पुनः उनको चर्चा चुलिएको छ।
दुई महिनापछि १८ वर्षमा टेक्न लागेका दीपेन्द्र यतिबेला नेपाली युवामाझ निकै लोकप्रिय छन्। उनको टोपी लगाउने स्टाइल र दाह्री युवामाझ निकै लोकप्रिय छ। मैदान बाहिर उनी ‘हिपहप ह्याट’ लगाउन मन पराउँछन्।
१७ वर्षको कलिलो उमेरमा पनि दाह्री पाल्ने उनको सौख अचम्मको छ। उनको दाह्रीको सौख देखेर धेरैले उनलाई भारतीय एकदिवसीय टोलीका प्रारम्भिक ब्याट्सम्यान शिखर धवनसँग तुलना गर्छन्।
तर, उनी आफूले दाह्री पाल्नुको कारण शिखर धवन नभएको प्रस्टीकरण दिँदै कारण अर्कै भएको खुलाउँछन्।
दीपेन्द्र राष्ट्रिय टोलीमा शरद भेषवाकरका ठूला फ्यान हुन्। उनी शरदलाई धेरै कुरामा पछ्याउन खोज्छन्। उनले दाह्री पाल्नुको एउटा कारण शरद पनि हुन्। शरदको खेल पछ्याउँदादेखि नै दीपेन्द्र उनलाई प्रायः दाह्रीमा देख्थे। त्यसैले उनलाई पनि त्यस्तै हुलियाको प्रभाव परेको रहेछ।
‘जब उहाँले छक्का हानेर नेपाललाई टि–२० विश्वकपमा प्रवेश गराउनुभयो, म उहाँको फ्यान भएँ। यसपछि उहाँको स्टाइल पनि पछ्याउन थालेको हुँ’, उनले नेपाल लाइभसँग भने।
दाह्री काट्दा निकै कलिलो देखिने भएकाले पनि आफूलाई दाह्री पाल्न मन लागेको उनी बताउँछन्।
‘म अलि परिपक्व देखिन चाहन्छु। दाह्री काट्दा कलिलो देखिन्छ। त्यसैले पनि पालेको हुँ,’ उनले भने।
दीपेन्द्र १४ वर्ष १० महिनाको उमेरमा युथ–१९ टोलीमा समावेश भइसकेका थिए। उनी बलिङ, ब्याटिङ र फिल्डिङ तीन वटै डिपार्टमेन्टमा पोख्त मानिन्छन्।
उनलाई प्रशिक्षक जगत टमाटाले सन् २०१४ मा युथ टिममा समावेश गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।