काठमाडौं– बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानीले गराएको बदलीका कारण हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। पूर्वी हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल गरेको छ।
शुक्रबार बिहानदेखि शनिबार बेलुसम्म उडान नगर्न अपिल गरिएको हो। जारी सूचनामा भनिएको छ, 'पूर्वी हिमाली क्षेत्रमा अहिलेदेखि नै भोलि दिनभरसम्म हेलिकोप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार मौसम प्रतिकूलताका कारण अहिले आन्तरिक उडान सबै ठप्प छ। 'अन्तर्राष्ट्रियतर्फ भने उडान सुचारु छ। पूर्वको विराटनगरबाट आएको बुद्ध एयरलाइन्सको जहाज डाइभर्ट भइसकेको छ भने पश्चिमतर्फ पोखराबाहेक सबै विमानस्थलमा उडान अवतरण अवरुद्ध छ,' उनले भने।
अन्तर्राष्ट्रियतर्फ टर्किस एयरलाइन्सले भरखरै उडान भरेको छ भने कतार एयरवेज उडानको तयारीमा रहेको उनले जानकारी दिए।
सम्बन्धित:
भारतको पूर्वी तटतिर बढ्दै समुद्री आँधी फानी, नेपालमा पनि प्रभाव पर्न सक्ने
हिमाल आरोहीलाई पर्यटन विभागको 'अलर्ट'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।