काठमाडौं– बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही समयमा उडिसाको तटवर्ती क्षेत्रमा आउने भएको छ। तुफानको असरले अहिले त्यहाँ वर्षा भइरहेको छ। तटीय क्षेत्रबाट करिब १० लाख मानिसलाई सुरक्षित स्थानतिर सारिएको छ। तर, झन्डै १ लाख मानिसले भने आफ्नो घर छोडेर जान नमानेको बिबिसीले उल्लेख गरेको छ।
नौसेना र कोस्ट गार्ड तथा अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जनाइएको छ। मौसम विभागका अनुसार स्थानीय समय अनुसार ८ बजे फानी सुरु भएको हो। त्यो समयमा हावाको गति १७५ देखि १८५ किलोमिटर प्रतिघन्टा देखिएको विभागले जनाएको छ।
यो तुफानले समुद्रमा करिब डेढ मिटर उचाइको लहर उठ्न सक्नेछ। सामान्य अवस्थामा वायुको वेग १० देखि १९ किलोमिटर प्रतिघन्टा हुन्छ।
तटीय क्षेत्रपछि फानी पश्चिम बंगाल हुँदै बंगलादेशसम्म पुग्नेछ। जमिनमा आएपछि यसको गति कम हुने जनाइएको छ। तुफानपछि सो क्षेत्रमा आगामी २४ घन्टासम्म भारी वर्षा हुनेसमेत त्यहाँको मौसम विभागले जनाएको छ। फानीका कारण बिजुली, पानी तथा सञ्चार सम्पर्क बन्द हुने अवस्था मौसमविदले अनुमान गरेका छन्।
यो आँधीबाट सुरक्षित राख्नका लागि सरकारी निकायहरु उच्च सतर्कतामा राखिएको छ।
उडिसामा सबैभन्दा धेरै प्रभाव
चक्रवाती तुफान फानीको प्रभाव सबैभन्दा धेरै उडिसामा पर्ने विभागको अनुमान छ।
१० हजार गाउँ र ५२ सहर फानीबाट प्रभावित हुने विभागको अनुमान छ। गृह मन्त्रालयले यस क्षेत्रका सरकारी कार्यालय र विद्यालयलाई बिदा दिँदै सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ।
एयरपोर्ट बन्द
फानीका कारण भारत सरकारले दुई विमानस्थल नै बन्द गरेर त्यहाँको उडान समेत रोकेको छ।
उडिसाको भुवनेश्वर र पश्चिम बंगालको कोलकाता एयरपोर्ट साढे ९ बजेदेखि बन्द गरिएको छ। २४ घन्टासम्म यी विमानस्थलहरु बन्द रहने सरकारले जनाएको छ।
कोलकाता–चेन्नई रुटको ट्रेन ४ मे सम्मका लागि रद्द गरिएको छ। २२३ ट्रेनको प्रस्थान पनि रद्द गरिएको थियो। १४० एक्सप्रेस मालवाहक र ८३ यात्रुवाहक ट्रेनको सेड्युल पनि रद्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।