नागपुर (एजेन्सी)– भारतीय क्रिकेट कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा पुनः दोहोरो शतक बनाएका छन्। श्रीलंका विरुद्ध नागपुरमा जारी दोस्रो टेस्टको तेस्रो दिन आइतबार उनले २ सय १३ रन बनाए।
उनको टेस्टमा पाँच वटा दोहोरो शतक पुगेको छ। उनले वेष्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराले बनाएको दोहोरो शतकको कीर्तिमानीलाई बराबरी गरेका हुन्। लाराले पनि टेस्ट कप्तानका रुपमा पाँच वटा दोहोरो सतक बनाएका थिए।
आइतबार नै सुनिल गावस्करको कीर्तिमान भंग गर्दै कप्तानको भूमिकामा सर्वाधिक १२ शतक बनाउने कप्तान बनेका विराटले त्यसको केही समयपछि दोहोरो शतक पूरा गरेका हुन्। उनले पहिलो शतक चेतेश्वर पुजारा क्रिजमा हुँदा पूरा गरेका थिए। पछि उनी रोहित शर्मा क्रिजमा हुँदा दोहोरो शतक पूरा गर्न सफल भए।
उनी आउट भएपछि भारतले ६ सय १० रनमा ६ विकेट गुमाएको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको छ। भारत पहिलो इनिङमा ४ सय ५ रनको अग्रता बनाउन सफल भएको छ। पहिलो इनिङमा श्रीलंकाले २ सय ५ रन बनाएको थियो।
भारतका लागि चेतेश्वर पुजारा, मुरली विजय र रोहित शर्माले पनि शतक बनाएका छन्। पुजाराले १ सय ४३, मुरलीले १ सय २८ र रोहितले अविजित १ सय २ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।