काठमाडौं- केही समययता एकता प्रक्रियामा सहमतिको सूत्र खोजिरहेका संघीय समाजवादी फोरम र नयाँ शक्तिसँग राष्ट्रिय जनता पार्टी पनि मिसिन आइपुगेको छ।
बिहीबार नयाँ शक्तिको पार्टी कार्यालयमा फोरम र राजपाका नेताहरु पुगेका थिए।
नयाँ शक्ति र फोरमले सांगठनिक विषयमा सहमतिका आधारहरु पहिल्याइसकेको अवस्थामा उनीहरुले अर्को शक्ति राजपासँग पनि छलफल गरेका हुन्। बैठकमा राजपाका नेताहरुले तत्काल एकताभन्दा पनि बलियो गठबन्धन बनाएर अघि बढ्न उचित भएको धारणा राखेका थिए।
नयाँ शक्तिले भने कांग्रेसले राम्रोसँग प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेकाले आफूहरुले तेस्रो शक्ति बनाएर बलियो प्रतिपक्षीय भूमिका निर्वाह गर्नु जरुरी रहेको भन्दै एकताको लागि उत्प्रेरित गर्ने प्रयास गरेका थिए।
अर्कोतिर, फोरम र नयाँ शक्तिले भने एकताको अन्तिम प्रक्रियामा पुगिसकेको बताएका छन्।
'सांगठनिक एकताको मोडल टुंगिसकेको छ। नेतृत्वमा नेकपाकै मोडल अपनाउने पनि सहमति भइसकेको छ', नयाँ शक्तिका एक नेताले भने, 'पहिलो बरियतामा डा भट्टराई र दोस्रोमा यादव रहने विषयमा कुरा मिलिसकेको छ।'
एमाले र माओवादीले एकता गरिसकेपछि उनीहरु बलियो शक्ति भएको र कांग्रेसको पनि आफ्नै खालको शक्ति रहिआएकाले तेस्रो शक्तिका लागि प्रयास गरिरहेको र राजपासँग पनि छलफल गरिएको नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडाले बताए। 'आज बैठक बसेको छ। हामी यो प्रक्रियालाई वृहत बनाउन चाहन्छौं', उनले भने।
उनले चर्चा भएजस्तो २३ गते नै एकता हुने भन्ने विषयमा भने असहमति जनाए। 'कुरा मिल्यो भने जहिले पनि एकता हुन सक्छ', उनले भने, '२३ गते मात्रै होइन, २४ वा २५ गते पनि हुनसक्छ।'
यसअघि राजपा र फोरम एकताको प्रयास चलिरहेको थियो। तर त्यो आशातित रुपमा अघि नबढ्दै फोरम र नयाँ शक्ति नजिकिएका हुन्। 'बाहिर चर्चा नभए पनि हामीले धेरै पटक बैठक बसेका छौं', नयाँ शक्तिका अर्का नेताले बताए।
०७४ सालमा सम्पन्न स्थानीय चुनावमा फोरम र नयाँ शक्तिबीच गठबन्धन थियो। त्यतिबेलै एकताको प्रयास भए पनि नेतृत्वको विषयलाई लिएर एकता स्थगित भएको थियो।
यो पनि पढ्नुहोस्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।