काठमाडौं- नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी एकताका लागि अन्तिम तयारीमा जुटेका छन्।
डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको फोरमबीच पछिल्लो समय घनीभूत छलफल भएको स्रोतले बतायो। दुई अध्यक्षबीच आजै बिहान पनि वार्ता भएको थियो।
दुई अध्यक्षबीचको बैठकले एकीकृत पार्टीको आधिकारिक दस्तावेज तयार गरेको स्रोतको भनाइ छ। दुवै पार्टीबाट दस्तावेज अनुमोदित भएपछि एकता घोषणा मिति तय हुनेछ।
सहमति अनुसार संघीय परिषद्को अध्यक्षता भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्नेछन्। एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, तर निर्णय भइसकेको छैन।
यसैबीच, दुई पार्टीबीचको एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी पनि सामेल भएको छ। तीनै दलका शीर्ष नेताहरुबीच बबरमहलमा वार्ता चलिरहेको बताइएको छ। दिउँसो २ बजेपछि सुरु भएको वार्तामा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र राजपाका महन्थ ठाकुर छन्।
यसअघि पार्टी एकताका लागि राजपा र फोरमबीच पत्र आदानप्रदान समेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।