नागपुर (एजेन्सी)– भारतीय कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा १९ औं सतक पुरा गरेका छन्। आइतबार श्रीलंका विरुद्ध दोस्रो टेस्टको तेस्रो दिन उनले नागपुरमा लकमलको बलमा एक रन लिँदै १ सय ३० बलमा सतक पुरा गरे।
यही वर्ष उनको यो चौथो टेस्ट सतक हो। अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ५१ औं सतक (३२ एकदिवसीय) पुरा गरेका छन्।
विराटले भारतीय टेस्ट कप्तानको भूमिकामा सबैभन्दा बढी सतक बनाउने कीर्तिमानलाई पनि आत्मसाथ गरेका छन्। कोलकातामा भएको पहिलो टेस्टमा विराटले पूर्व कप्तान सुनिल गावस्करको ११ टेस्ट सतकको कीर्तिमानलाई बराबरी गरेका थिए। आइतबार उनले गावस्करलाई उछिन्दै १२ सतक बनाएका छन्।
उनले २०१७ को क्यालेन्डर वर्षमा टेस्ट र एकदिवसीय गरेर १० सतक बनाइसकेका छन्। यो पनि अन्तर्राष्ट्रिय क्रिकेटको अर्को कीर्तिमान हो। यसअघि अस्ट्रेलियाका रिकी पोन्टिङले २००५ र २००६ को क्यालेन्डर वर्षमा ९ वटा सतक बनाएका थिए। दक्षिण अफ्रिकाका ग्राहम स्मिथले पनि २००५ मा ९ सतक बनाएका थिए। यी दुबै पूर्व कप्तानहरूको कीर्तिमानलाई आइतबार विराटले उछिने।
विराटले अर्को रोचक कीर्तिमान बनाउने क्रममा आफू कप्तान भएयता ३१ टेस्टमा अर्धसतकको तुलनामा सतक बढी हिर्काएका छन्। उनले कप्तानको भूमिकामा १६ अर्धसतक बनाएका थिए भने २२ सतक पुरा गरिसकेका छन्।
उनले चारवटा भिन्न टेस्ट शृंखलामा लगातार ४ पल्ट दोहोरो सतक पनि बनाएका छन्। विराटले १ सय ४ इनिङमा १९ सतक बनाएका हुन्। उनी डन ब्रेडम्यान (५३), सुनिल गावस्कर (८५), म्याथ्यु हेडन (९४) र स्टिभ स्मिथ (९७ पछि छिटो १९ सतक बनाउने व्याट्सम्यान हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।