इस्लामाबाद (एजेन्सी)– पाकिस्तानी विकेटकिपर कामरान अकमलले सलमान बटसँग मिलेर टि–२० क्रिकेटमा सबैभन्दा ठूलो साझेदारी गर्ने विश्व कीर्तिमान बनाएका छन्। शुक्रबार पाकिस्तानको राष्ट्रिय टि–२० प्रतियोगितामा यी दुई व्याट्सम्यानले पहिलो विकेटका लागि २ सय ९ रन बनाए।
लाहोर व्हाइट्सबाट खेल्दै उनीहरूले इस्लामाबाद विरुद्ध यो कीर्तिमान रचेका हुन्। कामरानले १२ छक्का र १४ चौकाको सहयोगले अविजित १ सय ५० रन बनाएका थिए। यस्तै, बटले पनि ४९ बलमा ५५ रन बनाए।
रावलपिन्डीमा भएको यो खेलमा इस्लामाबाद एक सय रन बनाएर समेटिएको थियो। लाहोरले खेल १ सय ९ रनले जित्यो।
यसअघि इंग्लिस क्लब केन्टका लागि जेएल डेनली र डिजे बेलले पहिलो विकेटका लागि २ सय ७ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए। डेनली–बेल जोडीले इंग्लिस काउन्टीमा एसेक्स विरद्ध यो कीर्तिमान बनाएका हुन्। कामरान र बटको जोडीले गरेको साझेदारी क्रिकेटको कुनै पनि फरम्याटमा तेस्रो ठूलो साझेदारी पनि हो।
कामरान विकेटकिपर व्याट्सम्यानको रुपमा १ सय ५० रन बनाउने पहिलो खेलाडी पनि बन्न पुगेका छन्। उनले दक्षिण अफ्रिकाका क्वान्टन डि ककको कीर्तिमानलाई पछाडि पारेका हुन्। डि ककले अविजित १ सय २६ रन बनाएका छन्।
सलमान बट स्पट फिक्सिङ काण्डमा पाँच वर्ष प्रतिबन्धमा परेका थिए। प्रतिबन्ध फुकुवा भएपछि उनी पाकिस्तानको घरेलु क्रिकेटमा सक्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।