काठमाडौं– आगामी वर्ष नेदरल्यान्ड्समा हुने आइसिसी महिला विश्व टी-२० छनोट खेल्ने एसियाका २ टिमको टुंगो आइतबार लाग्दैछ।
थाइल्यान्डमा भइरहेको एसिया छनोट प्रतियोगितामा भाग लिएका ६ टिममध्ये ४ टिमको छनोट हुने सम्भावना छ।
राउन्ड रोबिनमा भइरहेको प्रतियोगिताको ४ चरणको खेल सकिँदा थाइल्यान्ड ७ अंक जोड्दै शीर्ष स्थानमा छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको हङकङको ६ अंक छ भने ५ अंक जोड्दै युएई तेस्रो स्थानमा छ। ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ।
यी ४ टिम मध्ये २ टिम छनोट प्रतियोगिताका लागि छानिनेछन्। नेपालबाहेक ३ टिमको छनोट सम्भावना बलियो छ। नेपालका लागि भने आइतबार आफूले जितेर मात्र पुग्दैन, अन्य टिमको नजितामा भर पर्नुपर्नेछ ।
आइतबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्नेछ। आइतबार नै थाइल्यान्ड र हङकङ तथा युएई र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। थाइल्यान्ड र मलेसिया विजयी भए मात्र नेपालको छनोट सम्भावना हुनेछ।
आइतबार नेपाल, थाइल्यान्ड र मलेसिया विजयी भएको अवस्थामा थाइल्यान्ड पहिलो भएर छनोट हुनेछ। चीनलाई फराकिलो अन्तरले पराजित गरे नेपालले युएईलाई रन रेटमा पछि पारेर दोस्रो हुँदै छनोट हुनेछ।
सुरुवाती २ खेल वर्षाले रद्द हुँदा नेपाल अंक बाँड्न बाध्य भएको थियो। आयोजक थाइल्यान्डसँगको खेल जारी रहँदा भारी वर्षा भएपछि खेल अवरुद्ध बनेको थियो। चिसो आउटफिल्डका कारण हङकङविरुद्धको दोस्रो खेल सुरु नै नभई रद्द हुँदा नेपालले लगातार दोस्रो खेलमा अंक बाँड्यो।
तेस्रो खेलमा युएईसँग पराजित हुनु नेपाली टिमका लागि दुर्भाग्य साबित भयो। महिला क्रिकेटमा युएईसँग पहिलो हार बेहोर्ने क्रममा नेपाल ५ रनले पराजित भएको थियो।
चौथो खेलमा पहिलो जित हात पारेर नेपालले छनोट सम्भावना कायमै राखेको हो। नेपालले मलेसियालाई ३३ रनले हराएको थियो। मलेसियालाई हराउने क्रममा नेपालले राम्रो ब्याटिङ गर्यो। नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो।
आइतबार हुने लिग चरणको अन्तिम खेलहरुबाट २ टिम छानिएसँगै नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिता खेल्ने ८ वटै टिमको टुंगो लाग्नेछ। छनोट प्रतियोगिताका लागि ६ टिम यसअघि नै छानिइसकेका छन्। बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युगान्डा छनोट भइसकेका छन्।
नेपाली टिम
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, काजोल श्रेष्ठ, सवनम राई।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।