काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले ‘भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली दुर्वासा ऋषि बनेको आरोप लगाएका छन्।
मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खान्नँ भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेको’ आरोप लगए।
‘दुर्वशा ऋषिले खान्नँ भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजीले पनि सबै खानुभयो,’ भूमाफियाहरुले सबै सेटिङ मिलाएबापत् नेकपाका महासचिव विष्णु पौडेललाई बालुवाटारको जग्गा बकस दिएको दाबी पनि उनले गरे।
‘मैले सुनेको चाहिँ उहाँले सबै सेटिङ मिलाएकोले त्यो ८ आना जग्गा बकस पाउनु भएको हो। अनि कसको नाउमा राखौं भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ र अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकोले छोराको नाममा राख्नुभएको हो अरे,’ नेता विश्वकर्माको भनाइ थियो।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सार्वजनिक रुपमा नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा सरकारले एक टुक्रा जग्गा पनि अपचलन नगर्ने दाबी गरे।
बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णु पौडेलको नाममा बढी हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका उनले भने, ‘कुनै पनि व्यक्तिले जग्गा किनबेच गर्न पाउने अधिकारअन्र्तगत नै उहाँले जग्गा किनेको हो। त्यस विषयमा थप टीकाटिप्पणी नगर्दा नै उचित हुन्छ।’
राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए।
मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता बढ्नुको साथै सबै क्षेत्रमा माफियाहरु सक्रिय रहेको भन्दै उहाँले सरकारलाई कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।