काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणका दोषीमाथि मोलाहिजा बेगर कारबाही गर्न माग गरेको छ। मंगलबार एक प्रेस नोट जारी गर्दै कांग्रेसले दोषी जो कोही भएपनि कारबाही गरेरै छोड्नुपर्ने बताएको हो।
प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सो प्रकरणमा दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजग रहन समेत आग्रह गरिएको छ।
बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम जोडिएको प्रसंग कोट्याउँदै सो प्रेस नोटमा गम्भीर ध्यानाकर्षण भएको र सो विषयमा सभापति देउवाको अभिव्यक्ति सार्वजनिक भएको समेत स्मरण गराएको छ।
कांग्रेसले बैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याउने समेत दाबि गरेको छ।
यस्तो छ कांग्रेसले जारी गरेको प्रेस नोट
१. बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ ।
२. वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरण बारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहो¥याउन चाहन्छ ।
३. बालुवाटारको जग्गा को ब्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसविचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ । दोषीलाई जोगाउने ढंगले, बिषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।
४. तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मिहरुको इमानदारीतासंगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसिमा छ । नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहोर्याउन चाहन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।