काठमाडौं– आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार थाइल्यान्डमा भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो।
नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र जोड्न सक्यो। मलेसियाका लागि इमिलिया एलियानीले २४ रन र कप्तान दुरासिंगमले ११ रनको योगदान दिए। जियामी सामिमी १६ रनमा अविजित रहे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङतर्फ नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्। सोनु खड्का, सीता रानामगर, नेरी थापा र ऋतु कनौजियाले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो। नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।
उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले २ विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए। रोमा थापा पनि ६ रन बनाएर आउट भइन्।
काजोल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे।
जितसँगै ४ अंक जोडेको नेपाल अंक तालिकको चौथो स्थानमा उक्लिएको छ। यसअघि थाइल्यान्ड र हङकङसँगको खेल वर्षाले प्रभावित बनेपछि नेपालले दुवै टिमसँग १–१ बाँडेको थियो। तेस्रो खेलमा नेपाल युएईसँग ५ रनको झिनो अन्तरले पराजित भएको थियो।
७ अंक जोडेको थाइल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा छ। ५ अंक जोडेर हङकङ दोस्रो स्थानमा छ भने तेस्रो स्थानको युएईको ४ अंक छ।
छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्।
छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युगान्डा छन्।
अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।