काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी ल्हासा आइपुगेकी छन्।
चीनको राजकीय भ्रमणमा रहेकी भण्डारी आज बेइजिङबाट चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासाआएकी हुन्।
चीन प्रस्थान नेपाल वायुसेवा निगमको विशेष विमानबाट गरेकी राष्ट्रपति भण्डारी ल्हासा भने एयर चाइनाको विमानबाट आएकी हुन्।
राष्ट्रपति भण्डारीलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरेका छन्।
दिउँसो ल्हासा भ्रमण गरेपछि राष्ट्रपति भण्डारीसँग साँझ तिब्बतका नेताहरूले दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।
भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन्।
बैसाख ११ गते चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी १९ गते स्वदेश फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।