नागपुर (एजेन्सी)– तीव्र बलर भुवनेश्वर कुमारको स्थानमा भारतीय टिममा समावेश अलराउन्डर विजय शंकरको खेलको कप्तान विराट कोहलीले प्रशंसा गरेका छन्। विजय शंकर तमिलनाडु टिमका कप्तान हुन् र उनलाई श्रीलंका विरुद्धको खेलका लागि भारतीय टिममा छानिएको छ।
तमिलनाडुका लागि उत्कृष्ट प्रदर्शन गरिसकेका विजय शंकरले श्रीलंकाविरुद्ध पनि राम्रो प्रदर्शन गरेको खण्डमा उनलाई भारतीय टिममा नियमित स्थान बनाउन समय नलाग्ने बताइएको छ।
विजय शंकर हार्दिक पाण्ड्या हाराहारीको अलराउन्डर मानिन्छन्। २०१६ मा उनको छनोट अस्ट्रेलिया भ्रमणताका भएको थियो। तर, अन्तिम समयमा घाइते बन्न पुगेपछि उनको स्थानमा हार्दिक पाण्ड्याले मौका पाएका थिए। यसपछि पाण्ड्या नियमित भारतीय टोलीको सदस्य छन्।
श्रीलंकाविरुद्ध दोस्रो टेस्ट सुरु हुनुअघि बिहीबार मात्र कप्तान विराटले भने, 'हार्दिक अलराउन्डरको रुपमा भारतको पहिलो रोजाइ हुन्। तर, विदेश भ्रमणमा युवा खेलाडी विजय शंकर ब्याकअपको रुपमा मसँग रहनेछन्।'
पाण्ड्यालाई श्रीलंकाविरुद्ध टेस्ट शृंखलामा विश्राम दिइएको छ। यस्तोमा भुवनेश्वर कुमारको विकल्पको रुपमा शंकरले दोस्रो टेस्टमा स्थान बनाउनु आफैमा ठूलो कुरा मान्न सकिन्छ। विराटले दक्षिण अफ्रिकाको आगामी भ्रमणमा पनि उनलाई टिममा समावेश गर्न सकिने जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।