काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले त्यहाँको सरकार परिवर्तनको संकेत पनि गरेका छन्।
मंगलबार मधेस तराई फोरमका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै उनले मधेसमा सरकार जसरी चलेको छ, त्यो मधेसी जनताको हितमा नभएको बताए। 'मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन। त्यो मधेसी जनताको हित अनुकूल चलेको छैन', उनले भने।
'तराई मधेसमा पनि कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार बन्नु मात्रै त्यहाँको जनताको हितमा हुनसक्छ। नत्र मधेसी जनताको हित छैन। यो कुरा प्रष्ट देखिइसकेको छ', उनले भने, 'मैले धेरै पटक भनेको छु, हामीले चाहने हो भने ठूलो पार्टी हुनुको नाताले त्यहाँ चलखेल बन्ने हो भने अहिले पनि सकार बन्न सक्छ। तर हामीले उहाँहरुले बनाएको सरकार राम्रो काम गर्नुस्, हाम्रो साथ हुन्छ भनेको हो।'
प्रचण्डले सरकार बनेर यहाँसम्म आइपुग्दा मधेसमा झन् झन् बढी भ्रष्टाचार र बेइमानी बढेको आरोप लगाए।
'अहिले त योजना निर्माणमा व्यक्ति व्यक्तिको फोन नम्बर समेत रेडबुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो। यही स्थिति हो भने हामीले बीचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउनसक्छ', उनले भने।
प्रदेश २ को प्रदेशसभा १ सय ७ सदस्यीय छ। जसमा संघीय समाजवादी फोरमको २९ र राष्ट्रिय जनता पार्टीको २५ सिट छ। सरकार बनाउन आवश्यक ५४ सिट पुगेकाले उनीहरुले नै मिलिजुली सरकार चलाइरहेका छन्। सरकार बन्ने बेला फोरम सबैभन्दा ठूलो दल थियो। तर, २१ र ११ सिट जितेका तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि यो दल ३२ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ। यद्यपि, सरकार बनाउनका लागि उसलाई अन्य दलसँग साझेदारी भने गर्नै पर्छ।
उनले सोमबार पार्टीको सचिवालय बैठकले आगामी नीति तथा कार्यक्रम र बजेटमा तराई मधेसका लागि विशेष प्याकेज लिएर जानुपर्छ भन्ने कुरा उठेको बताए।
(फोटो– प्रचण्डको फेसबुक पेज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।