मिलान (एजेन्सी)– ब्राजिलका फुटबल स्टार रोबिन्होलाई सामूहिक बलात्कारको मुद्दामा ९ वर्षको जेल सजाय भएको छ। सन् २०१३ मा इटालीको मिलानमा भएको सामूहिक बलात्कारको मुद्दामा इटालीको एउटा अदालतले ३३ वर्षीय ब्राजिलियन स्टारलाई जेल सजाय सुनाएको हो।
नाइट क्लबमा नशामा धूत भएका रोबिन्होले अल्बानियाकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको थियो। रोबिन्हो ५ वर्ष एसी मिलानबाट व्यावसायिक फुटबल खेल्दै २०१५ मा इटालीबाट बाहिरिएका थिए। सजाय सुनाउँदा उनी अदालतमा उपस्थित थिएनन्। उनले वकिलमार्फत आफू निर्दोष भएको दाबी गरेका थिए।
रोबिन्होले ब्राजिलबाट एक सय खेल खेलिसकेका छन् र २ वर्ष म्यानचेस्टर सिटीमा बिताएर अहिले आफ्नै देशको एट्लेटिको मिनेरोबाट खेल्छन्। रोबिन्होले इन्स्टाग्राममा आफूले यो मुद्दामा आफ्नो संलग्नता अस्वीकार गरेको र आफू बलात्कारको घटनामा संलग्न नभएको बताएका छन्।
ब्राजिलकै सान्तोष क्लबबाट व्यावसायिक खेल जीवन सुरुवात गरेका रोबिन्हो रियल म्याड्रिडमा ४ वर्ष बस्दा २ वटा ला लिगा उपाधि जित्न सफल भएका थिए। उनी २००८ मा म्यानचेस्टर सिटीमा अनुबन्धित हुँदा इंल्यान्ड फुटबलको कीर्तिमानी ३ करोड २५ लाख पाउन्डमा आबद्ध भएका थिए।
उनले ब्राजिलबाट अन्तर्राष्ट्रिय फुटबलमा २८ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।