नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट टिमका तीब्र बलर भुवनेश्वर कुमार विहिबार मेरठमा आफ्नो छिमेकीसँग विवाह बन्धनमा बाँधिएका छन्। भुवीले पुरानो चिनजानकी केटीसँग विवाह गरेका हुन्। केही महिनाअघि मात्र उनले नुपुरसँगको फोटो सोसल मिडियाबाट सार्वजनिक गरेका थिए। यसै बेला उनले चाँडै विवाह गर्ने बताएका थिए।
भुवनेश्वरले ग्रेटर नोएडाको एउटा होटलमा नुपुर नागरसँग कुरा छिनेका थिए। उनीहरू दुबै मेरठको गंगानगरस्थित एउटै ब्लकमा बस्दै आइरहेका थिए। छिमेकी भएको कारण दुबै परिवारको राम्रो सम्बन्ध छ। नुपुरको बुवा यशपाल र भुवनेश्वरका बुवा किरन पाल सिंह दुबै प्रहरीबाट सेवानिवृत्त कर्मचारी हुन्।
भुवनेश्वरको विवाहमा सुरक्षाको व्यवस्था कडा पारिएको थियो। विवाहमा सुरक्षाको व्यवस्था मिलाउन ड्रोनको प्रयोग गरिएको थियो। २६ नोभेम्बरमा भुवनेश्वरको पैतृक गाउँ बुलन्दशहरको लोहारीमा वैवाहिक कार्यक्रमको आयोजना गरिने र पाँच डिसेम्बरमा दिल्लीको ताज होटलमा रिेसेप्सनको व्यवस्था गरिएको छ। दिल्लीमा सेलिब्रिटी, भारतीय क्रिकेट टिमका सदस्य र ठूला राजनेताको उपस्थिति रहने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।