झापा– दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि विभागीय टिम आर्मीले जितेको छ।
उपाधि भिडन्तमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो।
उपाधिसँगै आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेताले मनाङले २ लाख ५० हजार रुपैयाँ पायो।
झापाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको खेलमा आर्मीको जितमा स्ट्राइकरद्वय जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठले गोल गरे।
१८औं मिनेटमा जर्ज प्रिन्सले दिलाएको अग्रतालाई ४५औं मिनेटमा नवयुगले दोब्बर पारेका थिए। ६१औं मिनेटमा द्रोण थापाको पासलाई सदुपयोग गर्दै अनिल गुरुङले हेड गोलमार्फत मनाङलाई खेलमा फर्काउने कोसिस गरेका थिए। तर, दुवै टोलीबाट थप गोल हुन नसकेपछि आर्मी च्याम्पियन बन्यो। प्रतियोगितामा १० टोलीको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।