बेइजिङको ग्रेटहल अफ दि पिपुलमा राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी। तस्बिर सौजन्यः परराष्ट्र मन्त्रालय
काठमाडौँ- नेपाल र चीनबीच यातायात तथा पारवहन प्रोटोकलसहित ७ सम्झौतामा हस्ताक्षर भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सोमबार अपरान्ह बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा ती सम्झौतामा हस्ताक्षर भएका हुन् ।
दुवै देशका राष्ट्रपतिबीचको दुईपक्षीय भेटवार्तापछि भण्डारी र सीको उपस्थितिमा ती सम्झौता भएका हुन् ।
दुई देशबीच सबैभन्दा महत्वपूर्ण मानिएको यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरे।
त्यस्तै चीनले नेपाललाई प्रदान सहयोग प्रदान गर्ने सम्बन्धी अर्को सम्झौतामा पनि हस्ताक्षर भएको छ। सो सम्झौता अनुसार अनुसार चीनले नेपाललाई १६ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा सहयोग प्रदान गर्नेछ।
नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोका विषयमा पनि सम्झौतामा भएको छ । त्यस्तै नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधार्नका लागि सहयोगात्मक साझेदारीलाई सशक्त बनाउने सम्झौता पनि भएको छ ।
दुई देशबीचको भन्सार व्यवस्थामा आपसी सहयोग गर्न सम्झौता पनि भएको छ।
नेपाल नापतौल तथा गुणस्तर विभाग र चीनको गुणस्तर प्रशासनबीचमा आपसी सहकार्यका लागि पनि हस्ताक्षर भएको छ।
त्यस्तै चीन र नेपालबीचमा सांस्कृतिक सम्पदाको अवैध आयातनिर्यात, चोरी, तस्करी लगायतका कुराहरुलाई रोक्नका लागि पनि सम्झौता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।