काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान माथि उक्लिएको छ।
फिफाले बिहीबार जारी गरेको वरीयता सूचीमा नेपाल १७०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ७६ स्थानमा थियो। यो महिना नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको थियो।
वरीयतामा नेपाललाई सार्क क्षेत्रका माल्दिभ्स र भारतले पछि पारेका छन्। सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत वरीयतामा १०५औं स्थानमा छ।
सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १५७औं स्थानमा छ। माल्दिभ्स १ स्थान तल झरेको हो।
नेपालभन्दा तल रहेको भुटान १८५औं स्थानमा छ। भुटान ५ स्थान माथि उक्लिएको छ। बंगलादेश १९२औं, श्रीलंका २००औं र पाकिस्तान २०१औं स्थानमा छन्। पाकिस्तान सार्कको मात्र नभएर एसियाकै पुछारमा छ। श्रीलंका एसियाको पुछारबाट दोस्रो स्थानमा छ।
विश्व वरीयताको शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ। चौथो स्थानमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम र छैटौं स्थानमा स्पेन छ। यस्तै, पोल्यान्ड सातौं स्थानमा, स्विट्जरल्यान्ड आठौं, फ्रान्स नवौं र चिली दसौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।