काठमाडौं– आइसिसी महिला विश्व टी–२० को एसिया छनोट प्रतियोगिता अन्तर्गत युएईले नेपाललाई ५ रनले पराजित गरेको छ। पराजयसँगै नेपालको टी–२० विश्वकप छनोट खेल्ने सम्भावना कठिन बनेको छ। २ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौं स्थानमा छ।
युएईले दिएको ८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७४ रन मात्र बनायो। नेपालकी ऋतु कनौजियाले नटआउट २२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले २३ बलको सामना गर्दा २ चौका प्रहार गरिन्।
अन्तिम ओभरमा २ विकेट बाँकी रहेको नेपालले जितका लागि १० रन बनाउनुपर्ने थियो। तर, अन्तिम ओभरको दोस्रो बलमा रोमा थापा ३ रनमा रनआउट भएपछि नेपालको आशा सकिएको थियो।
नेपालका लागि ओपनर ज्योति पाण्डेले १२ रन जोडिन्। उनले १५ बल खेल्दा १ चौका प्रहार गरिन्। त्यसअघि सीता रानामगर ७ रनमा आउट हुँदा इन्दु बर्मा र नेरी थापाले रनको खाता खोल्न सकेनन्। यस्तै, काजोल श्रेष्ठ ८ रनमा रनआउटको सिकार बनिन्। सरिता मगर ५ रनमा आउट भइन्। लगत्तै कप्तान रुबिना क्षेत्री बेलबासे पनि शून्य रनमा पेभेलियन फर्किइन्। करुणा भन्डारी ६ रनमा बोल्ड भइन्। बलिङतर्फ हुमारिया तास्निम र निशा अलीले २–२ विकेट लिए।
यो पनि : चीनलाई हराएर युएईको महिला क्रिकेट टिमले रचेको इतिहास
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट क्षतिमा ७९ रन जोडेको थियो। ओपनिङ ब्याट्सवुमेन इसा रोहितले २२ रन जोडिन्। नतासा चेरिथले २३ रनको योगदान गरिन्। उनले रनआउट हुनुअघि ४२ बल खेल्दा १ चौका प्रहार गरिन्। उनलाई ज्योति पान्डेले रनआउटको सिकार बनाइन्। निशा अलीले पनि १७ रन बनाइन्। निशाले २८ बलमा १ चौका प्रहार गरिन्।
बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री बेलबासेले ३ विकेट लिइन्। रुबिनाले ४ ओभरमा १२ रन खर्चिइन्। ऋतु कनौजियाले २ विकेट हात पारिन्। नेरी थापाले १ विकेट आफ्नो नाममा लेखाइन्।
यसअघि नेपाल लगातार २ खेलमा बराबरीमा रोकिएको थियो। पहिलो खेल नेपाल र आयोजक थाइल्यान्डले अंक बाँडेका थिए। थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ दशमलब ४ ओभरमा बिनाविकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो।
नेपाल र हङकङबीच मंगलबारका लागि तय भएको खेल चिसो मैदानका कारण रद्द भएपछि दुवै टिमलाई समान १–१ अंक दिइएको थियो।
छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्।
छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।
नेपालका बाँकी खेल
८ मंसिर– मलेसियाविरुद्ध
१० मंसिर – चीनविरुद्ध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।