एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगको बुधबार राति सम्पन्न खेलमा बासेल क्लबले स्तब्ध तुल्याएको छ। जोसे माउरिन्होको टोलीलाई उसले समूह ‘ए’ को खेलमा १–० ले पराजित गर्यो।
म्यानचेस्टर युनाइटेडले पहिलो हाफमा गोल गर्ने थुप्रै मौका चुकाएको थियो। माराउनी फेलानी र मार्कोस रोजाले गोलका लागि सुन्दर मौका बनाएका थिए। अघिल्लो ४ खेलबाट १२ अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेको म्यानचेस्टरका लागि बुधबारको नतिजा स्तब्ध पार्ने खालको थियो।
घरेलु टोलीका लागि ८९ मिनेटमा मिचेल लाङले निर्णायक गोल गरेका थिए। खेल समाप्त भएपछि म्यानचेस्टर प्रशिक्षक माउरिन्होले आफ्नो टोलीले पहिलो हाफमै ५–६ गोलको अग्रता लिइसक्नुपर्ने तर त्यो नभए पनि आफूलाई खेलाडीप्रति कुनै गुनासो नभएको प्रतिक्रिया दिएका छन्।
‘पहिलो हाफ हाम्रो लागि ठिक थियो। तर, गोल हुन सकेन। म गुनासो गर्न चाहन्न। खेलाडीलाई दोष पनि दिन चाहन्न,’ माउरिन्होले भने, ‘मेरो विचारमा यस्तो खेल भयो भने १० मा ९ पल्ट हामीले मज्जाले जित्छौं। एउटा हार्न सक्छौं। त्यो एउटा अहिले सम्भव भएको मात्र हो।’
यही समूहमा सिएसका मास्कोले २–१ गोलले बेनिफिकालाई पराजित गरेको छ। यो नतिजापछि समूहमा उपविजेता भएर मास्को र बासेलमध्ये कुन जाने त्यो ५ डिसेम्बरमा हुने अन्तिम खेलले बताउनेछ। दुवैको समान ९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।