काठमाडौं (एजेन्सी)– नेइमार र काभानी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्कटिस क्लब सेल्टिकलाई ७–१ को विशाल गोल अन्तरले पराजित गरेको छ।
ब्रान्डन रोजर्सको टोलीले पार्क डे प्रिन्सेस मैदानमा माउसा डेम्बेलेको गोलमा पहिलो मिनेटमै घरेलु पिएसजीलाई स्तब्ध तुल्याएको थियो। तर, यो नतिजा लामो समय टिक्न सकेन। नेइमारले ९ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो।
यसपछि घरेलु टोली रोकिएन। नेइमारले २२ मिनेटमा दोस्रो गोल थपे। इडिन्सन काभानीले २८ र ७९ मिनेटमा गरी २ गोल गरे। केलियान एमबापेले ३५, मार्को भेराटीले ७५ र डानी आल्भेसले ८० मिनेटमा गोल गरेपछि पिएसजीले भ्रमणकारी सेल्टिकलाई आधा दर्जनभन्दा धेरै गोलको उपहार दियो।
सेल्टिकले दोस्रोपल्ट ७ गोल खाएको हो। पिएसजीको भने च्याम्पियन्स लिगमा अहिलेसम्मकै सर्वाधिक गोलको जित थियो। फ्रेन्च क्लबले यसअघि सेल्टिकलाई ५–० ले पराजित गरेको थियो।
नेइमार यसै सिजनदेखि कीर्तिमानी रकममा पिएसजीमा आबद्ध भएपछि क्लबले ५ खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह ‘बी’ मा १५ अंक बटुलेको छ। यस क्रममा क्लबले २४ गोल गरिसकेको छ। जुन च्याम्पियन्स लिगको समूह चरणको खेलमा एउटा कीर्तिमान हो। उसले अझै एक खेल खेल्न बाँकी छ।
यही समूहको अर्को खेलमा जर्मनी क्लब वायर्न म्युनिखले एन्डरलेच्टलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा छनोट भएको छ। म्युनिखले ५ खेलबाट १२ अंक बटुलेको छ। उसले पनि अन्तिम खेल खेल्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।