लन्डन– युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपियन क्लबमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेटेर शताब्दीको 'ड्रिम फुटबल टिम' बनाएको छ। युइएफको टिममा रहेका ११ मध्ये २ खेलाडीले मात्र स्पेनिस क्लबमा खेलेका छैनन्। बेलायती पत्रिका द सनका अनुसार स्पेनिस क्लबमा पनि बार्सिलोनाका स्टार खेलाडीले ड्रिम टिममा बाहुल्य छ।
गोलकिपर : युइएफएले स्पेनिस राष्ट्रिय टिममा पूर्व कप्तान इकार कासिलासलाई ड्रिम टिमको गोलकिपरमा राखेको छ। रियल म्याड्रिडबाट लामो समय व्यावसायिक फुटबल खेलेका कासिलासले राष्ट्रिय टिमबाट १ सय ६७ खेल खेलेका थिए। उनले रियल म्याड्रिडमा १६ वर्ष खेलेका थिए। कासिलास हाल पोर्चुगिज क्लब पोर्टोमा आबद्ध छन्।
डिफेन्डर : ड्रिम टिमको डिफेन्डरमा स्पेनिस क्लब रियल म्याड्रिडका सर्जियो रामोस, अर्को स्पेनिस क्लब बार्सिलोनाका जेरार्ड पिके र कार्लोस पुयोललाई स्थान दिएको छ। यस्तै जर्मन क्लब वार्यन म्युनिखका फिलिप लाहमलाई पनि डिफेन्डरको रुपमा टिममा छन्। लाहम र पुयोलले खेल जीवनबाट संन्यास लिइसकेका छन् भने पिके र रामोस खेलिरहेका छन्।
मिडफिल्डर : युइएफले मिडफिल्डरमा तीन खेलाडीलाई स्थान दिएको छ। जहाँ बार्सिलोनाका मिडफिल्डरद्वय जाभी र आन्द्रेस इनिस्टा छन्। यस्तै इंग्लिस क्लब लिभरपुलका स्टेभिन जेरार्ड पनि परेका छन्। तीन मिडफिल्डरमध्ये अहिले इनिस्टा मात्र खेलिरहेका छन्।

फरवार्ड : ड्रिम टिमको फरवार्डमा इंग्लिस क्लब आर्सनलका फ्रेन्च फरवार्ड थियरी हेनरी, स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो समावेश छन्। हेनरीले सन् २०१४ मा व्यवसायिक खेल जीवनबाट संन्यास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।