दमौली- विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित ३ वटा सामुदायिक विद्यालयलाई समायोजन गरिएको छ।
वडा नम्बर ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नम्बर ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नम्बर ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालय, दीपक मावि र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिए।
उनका अनुसार समायोजन भएका विद्यालयहरुमा तीन कक्षासम्म अध्यापन हुन्थ्यो। उनले भने, 'विद्यार्थी सङ्ख्या न्यून भएका र नजिकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ। नगर शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो।'
समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत रहने शाखा प्रमुख पौडेलले बताए। नगरपालिकाले भिमाद नगरपालिका–७ स्थित पोखरीछाप आधारभूत विद्यालयको दुई वटा कक्षा हटाएको छ कक्षा ५ सम्म पढाइ हुँदै आएको विद्यालयमा कक्षा ४ र ५ हटाइएकाले अब त्यहाँ कक्षा ३ सम्म पढाइ हुनेछ। नगर क्षेत्रभित्र ६५ सामुदायिक विद्यालय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।