काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) क्रिकेट ‘हब’को रुपमा विकसित भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०१० देखि दुबईमा ग्लोबल क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएदेखि यहाँ क्रिकेटको गतिविधि ह्वात्तै बढेको छ।
आइसिसीको मुख्यालय पनि यही देशमा छ। अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाले युएईको माहोललाई अझ बढी आकर्षित गरेको छ। पाकिस्तान, अफगानिस्तान लगायतका देशले आफ्ना घरेलु खेल युएईमा खेल्ने गरेका छन्। पाकिस्तानको घरेलु लिग समेत युएईमै हुने गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटको ‘हब’ बने पनि युएईको क्रिकेट इतिहास भने त्यति लामो छैन। युईएले सन् १९८९ मा आएर आइसिसीको सदस्यता पाएको थियो। आइसिसीको सदस्य राष्ट्र बनेको ५ वर्षभित्र युएईले आइसिसी ट्रफी घर भित्र्याएको थियो। यति मात्र होइन, १९९६ को विश्वकप खेलेर युएईले इतिहास पनि रच्यो। विश्वकप खेल्नुअघि एकदिवसीय मान्यता पाएको युएईले यसबीचमा धेरै उतारचढाव बेहोरेको छ।
पुरुष टिमको तुलनामा युएईले महिला क्रिकेटमा त्यति ध्यान दिएन। फलस्वरुप पुरुष टिमले विश्वकप खेलेको ११ वर्षपछि मात्र महिला टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने मौका पायो।

सन् २००७ मा मलेसियामा भएको एसिसी वुमेन्स च्याम्पियन्सिप युएई महिला टिमको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा उसले बंगलादेश जस्तो बलियो टिमको सामना गर्नुपरेको थियो। यो खेलमा कूल ९ रनमा पूरै टिम आउट भएपछि महिला टिमको विषयमा युएई क्रिकेटको लगानीको भण्डाफोर भएको थियो।
तीन वटै खेल हारेको युएईको त्यतिबेलाको टिमलाई आमाछोरीको टिम भन्ने गरिन्थ्यो। त्यतिबेला टिमकी कप्तान नातासा चेरिच १२ वर्षकी थिइन्। प्रशिक्षक भारतकी समिथा हरिकृष्ण ३४ वर्षकी थिइन्। समिथा भारतीय राष्ट्रिय टिमकी पूर्व खेलाडी हुन्।
युएई महिला टिमले सन् २००९ मा एसिसी टी–२० च्याम्पिनसिपमा पहिलो अन्तर्राष्ट्रिय जित हात पारेको थियो भने ओमानमाथि ४९ रनले पराजित गरेर पहिलो अन्तर्राष्ट्रिय जित हात पार्यो।
सन् २०११ को एसिसी महिला टी–२० मा पनि भाग लिएको युएईको प्रदर्शन राम्रो हुन सकेन। सन् २०१३ मा थाइल्यान्डमा भएको एसिसी वुमेन्स च्याम्पियन्सिपमा युएईले एक खेल पनि जितेन।
समग्र एसियामा कमजोर आँकिएको युएई टिम गल्फ क्षेत्रमा भने बलियो मानिन्छ। किनकि युएईले सन् २०१४ र २०१५ को गल्फ महिला क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको थियो।
आइसिसीको कार्यालय दुबईमा सारिएको १२ वर्षपछि मात्र युएईको महिला टिमले आइसिसीकै पहिलो प्रतियोगिता खेल्ने मौका पायो। थाइल्यान्डमा भइरहेको आइसिसी महिला विश्व टी–२० छनोटमा युएईले प्रतिस्पर्धा गरिरहेको छ।

आइसिसीको पहिलो आधिकारिक प्रतियोगिताको रुपमा युएईले चीनसँग प्रतिस्पर्धा गरेको थियो। गत आइतबार भएको खेलमा युएईले चीनलाई १६ रनले पराजित गरेर इतिहास रचेको हो।
इतिहास बनाएको खेलमा युएईले पूरा ओभर भने खेल्न पाएन। वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा युएईकी कप्तान हुमारिया तस्निनले टस जितेर ब्याटिङ रोजेकी थिइन्। युएईले ५ ओभरमा ४० रन बनायो। जवाफी ब्याटिङ गरेको चीनलाई २४ रनमा रोकेपछि युएईले ऐतिहासिक जित हात पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।