काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएईविरुद्ध हुने सातौं चरणको खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट भएका छन्। पहिलो चरणको टिममा परेका २८ खेलाडीबाट दोस्रो चरणमा २० खेलाडी छनोट गरिएको हो।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाका अनुसार १६ देखि २० नोभेम्बरमा खेलाइएको छनोट खेलका आधारमा दोस्रो चरणको टिम घोषणा गरिएको हो।
२० जनाको टिममा युवा टिमका ब्याट्सम्यान अनिलकुमार साहले पहिलो पटक स्थान बनाएका छन्। उनलाई मलेसियामा सम्पन्न एसिसी यू–१९ एसिया कपमा गरेको प्रदर्शनको आधारमा पहिलो चरणको टिममा राखिएको थियो। यस्तै सिद्धान्त लोहनीले पनि दोस्रो चरणको टिममा स्थान बनाएका छन्। दिलीप नाथ र कुशल भुर्तेलले पनि टिममा स्थान पाएका छन् ।
आशा गरिएका सौरभ खनालले दोस्रो चरणमा स्थान बनाएनन् । सुसन भारी, नरेश बुढाऐर, अनिल मण्डल, विक्रम शोव र सुनील धमला पनि दोस्रो चरणमा छानिएनन्। युवा टिमका मोहम्मद आसिफ शेख र रोहितकुमार पौडेल पनि अन्तिम २० मा पर्न सकेनन्।
डब्लुसिएल च्याम्पियनसिपको सातौं चरणमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा प्रतिस्पर्धा हुँदैछ। खेल आबुधावीको शिख जायेद रंगशालामा हुनेछ। दुवै टिम डिभिजन–२ मा झरेकाले खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
दोस्रो चरणको टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललितसिंह भण्डारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दीलिप नाथ, हसिम अन्सारी, शक्ति गौचन, सिद्धान्त लोहनी र अनिलकुमार साह ।
अन्तिम २० पर्न नसकेका खेलाडी
सुसन भारी, नरेश बुढाऐर, सौरभ खनाल, अनिल मण्डल, विक्रम शोव, सुनील धमला, मोहम्मद आसिफ शेख र रोहितकुमार पौडेल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।