काठमाडौं (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान तोडेका छन्। मंगलबार राती एपोइल निकोसिया विरुद्धको खेलमा दोस्रो हाफमा २ गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगको एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन्।
रोनाल्डोको दुई गोलको सहयोगले रियल म्याड्रिडले निकोसियालाई ६–० गोलले पराजित गर्यो। यो जितसँगै म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत छनोट भएको छ। पछिल्लो समय खराब खेल प्रदर्शन गर्दै आइरहेको म्याड्रिड समूह ‘एच’ मा इंग्लिस क्लब टोटेनहमपछि दोस्रो हुँदै अघिल्लो चरण प्रवेश गरेको हो।
टोटेनहमले अर्को खेलमा जर्मनी क्लब बाेरुसिया डर्टमुन्डलाई २–१ गोलले पराजित गर्दै ५ खेलबाट १३ अंक जुटाउँदै अन्तिम १६ मा समूह विजेताको हिसाबले छनोट भएको हो। म्याड्रिडले १० अंक बटुलेको छ।
रोनाल्डोले घर बाहिर भएको खेलमा ४९ र ५४ मिनेटमा गोल गरेका थिए। उनको यही क्यालेन्डर वर्षमा च्याम्पियन्स लिगमा १८ गोल पुरा भएको हो। उनले च्याम्पियन्स लिगको पछिल्लो १० खेलमा १८ गोल गरेका हुन्। च्याम्पियन्स लिगमा उनको गोल संख्या १ सय १३ पनि पुरा भएको छ, जुन बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीभन्दा १६ गोल बढी हो।
मंगलबार रातीको खेलमा करिम बेन्जेमाले पनि २ गोल गरेका थिए। उनले पहिलो हाफको ३९ र ४५ मिनेटपछि थप भएको अर्को मिनेटमा गोल गरेका थिए। यस्तै, लुका मोड्रिकले २३ र नाचोले ४१ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।