राजविराज– सप्तरीमा एक महिलाले आफनै जेठाजुलाई माँड खन्याएर घाइते बनाएकी छन्।
राजविराज नगरपालिका–११ झल्ही फर्सैठकी ३५ वर्षीया भोलीदेवी खंगले जेठाजु ३५ वर्षीय राजकुमार खंगलाई शुक्रवार माँड खन्याइदिएकी हुन्।
तातो माँडले राजकुमारको शरीरका विभिन्न भाग जलेको छ। उनलाई तत्कालै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ।
घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर गुरु तिम्सिनाले जानकारी दिए।
घर अगाडिको नाला सफा गर्ने क्रममा दुवैबीच विवाद भएर घटना भएको प्रहरीले जनाएको छ। विवाद गर्दै राजकुमार भोलीदेवीको घरमा पुगेका थिए।
सोही क्रममा भर्खरै निकालेको माड भोलीदेवीले राजकुमारको जिउमा खन्याइदिएको स्थानीयको भनाइका आधारमा प्रहरीले जनाएको छ।
भोलीदेवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका पति श्यामकुमार खंग वैदेशिक रोजगारीमा गएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।