काठमाडौं– नेपाली सेनाले आफ्नो संगठनमा कार्यरत र सेवानिवृत्त सैनिकको आचारण सुधार गर्न सुरु गरेको ‘सैनिक आचार संहिता सप्ताह’को समापन गरेको छ।
शुक्रबार नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीले सैनिक मुख्यालय जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा एक कार्यक्रम गरेर सप्ताह समापन भएको घोषणा गरेका छन्।
गत ६ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘सैनिक आचार संहिता २०७६’ लागू भएको घोषणा गरेका थिए।
नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणबारे तयार पारिएको सैनिक आचारसंहिता कार्यन्वयन गर्न सेनाले पहिलो पटक सैनिक आचारसंहिता सप्ताहसमेत सुरु गरेको हो।
सप्ताहको समापन गर्दै गिरीले उत्कृष्ट सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास गर्ने लगायतका उद्देश्यसहित प्रत्येक वर्षको पहिलो महिनाको पहिलो हप्ता देशभर तथा विदेशमा तैनाथ नेपाली सेनाका सवै निकायहरूमा आचार संहिता सप्ताह मनाउने योजना अनुरुप प्रथम पटक कार्यक्रमको आयोजना गरिएको बताएका थिए।
७ दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपाली सेनाका विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय, पृतना, बाहिनी, गण र गुल्मका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो जिम्मेवारी तथा भूमिकाको बारेमा कक्षाहरू सञ्चालन गरेको नेपाली सेनाले जनाएको छ।
यसले आफुहरूलाई थप शिक्षित, सचेत, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ बनाएको विश्वास सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।