काठमाडौं– प्रहरीले विद्यालयमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानी रोक्न अभियान सञ्चालन गरेको छ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गरी शुक्रबारदेखि शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान सुरु गरिएको हो।
प्रदेश स्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा २ नम्बर प्रदेश जनकपुरमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रुपमा अभियान सुरु भएको घोषणा गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको धारणा व्यक्त गरे।
शैक्षिक वातावरणमा हुने कुनै पनि प्रकारका अभद्र व्यवहार तथा हैरानीका सम्भावनालाई रोकथाम गर्नको लागि यो अभियान राष्ट्रव्यापी रुपमा सञ्चालन गरिएको उनले बताए।
स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बढ्दै गइरहेको सामाजिक विचलन, विकृति र विसंगति सुरक्षा व्यवस्थापनको चुनौतिको रुपमा देखा परेको विचार व्यक्त गरे।
शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान कार्यान्वयनको लागि नेपाल प्रहरीले शैक्षिक सत्रको प्रारम्भमै बैसाख, जेठ महिनाभर हरेक विद्यालयहरूमा पुगी समुदाय र विद्यालयहरू समेतको साझेदारीमा कार्यक्रम गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।