निकोसिया (साइप्रस)– स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिगको अर्को रेकर्ड नजिक छन्।
च्याम्पियन्स लिगमा सबैभन्दा पहिला सय गोल पूरा गरेका रोनाल्डो लिगमा बढी गोल गर्ने खेलाडी हुन्। मंगलबार राति साइप्रसको क्लब एपोइल निकोसियाविरुद्ध गोल गरेमा रोनाल्डोले एकै वर्षमा बढी गोलको कीर्तिमान बनाउनेछन्।
यसअघि एक वर्षमा बढी गोल गर्ने कीर्तिमान पनि रोनाल्डोकै नाममा छ। रोनाल्डोले सन् २०१५ मा १६ गोल गरेर कीर्तिमान बनाएका थिए। यो वर्ष पनि रोनाल्डोले १६ गोल गरेर कीर्तिमान बराबरी गरिसकेका छन्। मंगलबार राति निकोसियालाई गोल गर्न सके रोनाल्डोले १७ गोल गरेर एकै वर्षमा बढी गोल गर्ने कीर्तिमान बनाउनेछन्।
समूह एचमा रहेको रियल चार चरणको खेल सकिँदा ७ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको टोटनह्यामको १० अंक छ।
च्याम्पियन्स लिगमा एकै वर्षमा बढी गोल गर्ने खेलाडीको सूचीको दोस्रो नम्बरमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसी छन्। मेसीले सन् २०१६ मा १३ गोल गरेक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।