बुटवल– प्रदेश नं ५ सरकारले प्रदेश अन्तर्गतका जिल्लामा गत वर्ष प्राकृतिक प्रकोपमा परी मृत्यु भएका परिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले प्रदेशअन्तर्गतका जिल्लामा विभिन्न घटनामा मृत्यु भएका पीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु एक लाखका रकम उपलब्ध गराउने निणर्य गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भैतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए।
प्रदेश सरकारले प्रदेशअन्तर्गतका १२ वटै जिल्लामा ०७४ फागुन ३ गतेदेखि ०७५ पुस मसान्तसम्म बाढी, पहिरो, हावाहुरी, आगलागी, चट्याङ, करेन्टजस्ता विपद्का कारणले मृत्यु भएका ५१ जना व्यक्तिका परिवारलाई राहत दिने निर्णय गरेको हो।
विपद्मा परी मृत्यु भएकामा सबैभन्दा बढी खोलाले बगाएका २२ जना रहेका छन्। त्यस्तै १० जना चट्याङ लागेर, अन्य विद्युतीय करेन्ट, पहिराले च्यापेर, आगलागीबाट मृत्यु भएका छन्।
यस्तै प्रदेश सरकारले दाङको राप्ती गाउँपालिका– ७ बसन्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउन १ सय ७२ बिगाहा, १९ कट्ठा जग्गा प्राप्त गरेकाले काम अघि बढाउने निर्णय गरेको छ।
दाङकै घोराही उपमहानगरपालिका–१६ स्थित नेत्रलाल अभागी रङ्गशाला र बुटवल उपमहानगरपालिका–१३ स्थित उजीर सिंह रङ्गशालाको स्तरोन्नति गर्ने निणर्य गरेको प्रवक्ता चौधरीले जानकारी दिए।
बैठकले प्रदेश नं ५ सरकारले ६ वटा नयाँ बिदा स्वीकृत गर्ने निर्णय गरेको छ। फागुन ३ गते प्रदेश स्थापना दिवस, बकर इद र माघे सङ्क्रान्तिमा दुई दिन प्रदेशभर बिदा लागू हुनेछ।
यस्तै एक दिन स्थानीय तहले र अर्को एक दिन स्थानीय समुदायमा आधारित बिदालाई स्वीकृत गरेको प्रवक्ता मन्त्री चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।