काठमाडौ– मदन भण्डारी स्पोर्ट्स एकेडेमीले नेपाली यू–१९ क्रिकेट टिमका खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने भएको छ। एकेडेमीले सोमबार युवा टिमलाई सम्मान गर्दै १० हजार दिने घोषणा गरेको हो।
मलेसियामा भएको एसिसी यू–१९ एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो। समूह चरणमा भारतलाई १९ रनले पराजित गर्दै नेपालले इतिहास रचेको थियो।
नेपाली टिमलाई नेकपा एमालेका अध्क्षय केपी शर्मा ओलीले सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रदेशसभा र प्रतिनिधसभाको निर्वाचनपछि क्रिकेट विवाद समाधान हुने बताए। उनले नेपाली टिमको प्रदर्शन राम्रो भएको भन्दै बधाई समेत दिए।
सम्मान कार्यक्रममा नेपाली टिमका प्रशिक्षक विनोद दासले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा बिदाइ कार्यक्रम हुन छाडेको भन्दै दु:ख व्यक्त गरेका थिए। दासले खेलाडीको बिदाइ नहुँदा हौसला मिल्न छाडेको बताएका थिए।
दासको भनाइपछि बोलेका ओलीले 'खेलाडीको बिदाइ समेत नगर्ने खेलकुद परिषद् किन चाहियो ?' भनी प्रश्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।