काठमाडौं- खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदान गर्न अनुमतिपत्र प्रदान गरेको छ। राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्स्योट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटका माध्यमबाट डिजिटल भुक्तानी सेवाका काम गर्न अनुमति प्राप्त गरेको हो। डिजिटल भुक्तानीका साथै अब खल्तीमार्फत् आन्तरिक मनि ट्रान्सफर र अन्य वित्तीय सेवाहरू उपलब्ध हुनेछन्।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ डिजिटल भुक्तानी सेवा प्रदायक स्टार्ट-अप कम्पनी हो।
राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन कम्पनी थप उत्प्रेरित बनेको खल्तीले जनाएको छ।
खल्तीले राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेपछि कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले भने,'डिजिटल भुक्तानी नेपालमा भर्खरै सुरु भएको नयाँ प्रविधि हो। लाइसेन्सले हामीलाई अझै तीव्र गतिमा डिजिटल भुक्तानी सेवा विस्तार गर्न उत्साह प्रदान गरेको छ।'
सूचना प्रविधिको पहुँच विस्तार भएसँगै खल्तीले बैंकिङ पहुँच बाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ।
खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाईल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहकशुल्क तिर्ने जस्ता थुप्रै सेवा लिन सकिन्छ। यसका साथै, खल्ती एपबाट खुद्रा पसलमा क्युआर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ।
हाल खल्ती प्रयोगकर्ताको संख्या ८ लाखभन्दा बढी रहेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।