काठमाडौं– आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपाल र थाइल्यान्डले अंक बाँडेका छन्। थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध बनेपछि दुवै टिमले १–१ अंक बाँडेका हुन्।
थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा विनाविकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो। नेपालकी ज्योति पाण्डे ४ र सरिता मगर ५ रन बनाएर खेलिरहेका थिए।
टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनायो।
घरेलु टिमका लागि नारुमोल चाइवाईले नटआउट २३ रन जोडिन्। उनले ३७ बल खेले पनि कुनै बाउन्ड्री हिर्काउन सकिनन्। ओपनर नाटाकम चन्तमले १८ रन जोडिन्। नेपालकी सरिता मगरबाट बोल्ड हुनुअघि उनले १८ बल खेलेर २ चौका प्रहार गरिन्। स्वर्णारिन टिपोचले १५ रनको योगदान गरिन्। उनले २७ बल खेल्दा बाउन्ड्री भने प्रहार गर्न सकिनन्।
बलिङतर्फ नेपालका लागि सरिता मगरले २ विकेट लिइन्। कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले १–१ विकेट हात पारे। करुणा र रुबिनाले १–१ जना थाई ब्याट्सउमेनलाई रनआउटको सिकार बनाए।
सोमबार भएको अन्य खेलमा हङकङले मलेसियालाई ३५ रन तथा युएइले चीनलाई १६ रनले पराजित गरेका छन्।
छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्। छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।
नेपालका बाँकी खेल
५ मंसिर – हङकङविरुद्ध
७ मंसिर – युएईविरुद्ध
८ मंसिर– मलेसियाविरुद्ध
१० मंसिर – चीनविरुद्ध
नेपाली टिम
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, काजोल श्रेष्ठ, सवनम राई।
वैकल्पिक खेलाडी– कविता कुँवर, नितु भण्डारी, रेखा रावल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।