प्रतिकात्मक तस्बिर
सर्लाही- सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्टल स्टोरबाट १५ लाख रुपैयाँ चोरी भएको छ।
स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार ६ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको १५ लाख रुपैयाँ चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर फरार भएको सिसिटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए। ६ जनाको समूहले चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ। सटर तानेको ठाउँमा ५ जना बाहिर बसेको र एक जनाले पैसा झिकेपछि भागेको सिसिटिभी फुटेजमा देखिएकाे भट्टराईले बताए।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाल प्रहरीले सीमा नाका नजिक लगाएको सिसिटिभी फुटेजमा देखिएको छ।
चोरीको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। सामान अर्डर दिएका व्यापारीलाई दिन राखिएको पैसा चोरी भएको स्टोरका सञ्चालक शङ्कर चौधरीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।