जनकपुर- जिल्ला प्रशासन कार्यालयमा जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको नागरिकता वितरणा गर्न थालिए पनि धनुषामा भने वितरण सुरु भएको छैन।
गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकता दिन आदेश दिएपछि महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, धनुषा, सिरहा र सप्तरीस्थित जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड लागेको छ।
महोत्तरी, रौतहट, बारा, पर्सा, सप्तरी जिल्लामा नागरिकता वितरणको काम सुरु भएतापनि धनुषामा भने टोकनको व्यवस्थामार्फत नागरिकता वितरणका लागि विभिन्न चरणको प्रक्रिया अपनाइएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले धनुषामा ०६३ र ०७० सालमा नक्कली नागरिकता समेत फेला परेकाले जन्मसिद्व तथा जन्मको आधारमा दिन लागेको नागरिकताका लागि अति नै सुक्ष्म तरिकाले अध्ययन गरिने भएकाले तयारी भइरहेको जानकारी दिए।
नागरिकताका लागि आवेदनसहित फारम लिन सुरु भएको र सो संकलनपछि प्रहरीले हरेक नागरिकता पाउने व्यक्तिको गाउँमा सर्जिमिन गर्ने र त्यसपछि नागरिकताका लागि सम्बन्धित व्यक्तिलाई फोन गरी नागरिकता वितरण गर्ने जानकारी दिए।
धनुषामा ३ दिनदेखि सुरु भएको नागरिकता आवेदन फारम संकलनको क्रममा हालसम्म १ सय ५० भन्दा बढी दर्ता भएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।