काठमाडौं- अनमोल केसीको दुई वर्षपछि रिलिज हुन लागेको 'कृ' र श्वेता खड्काको 'कान्छी'बीच भिडन्त पक्का भएको छ।
'कृ'का निर्मातामध्ये एक भुवन केसीले फिल्म सोही मितिमा लाग्ने बताएपछि दुई सिनेमा बक्सअफिसमा भिड्ने पक्का भएको हो।
आइतबार अभिनेत्री निशा अधिकारीको निर्माण डेब्यु 'झ्यानकुटी'को विशेष प्रदर्शनमा फिल्म हेर्न पुगेका भुवनले फिल्म सो मितिमा नै रिलिज हुने बताएका हुन्।
सञ्चारकर्मीसँगको साक्षात्कारमा भुवनले तिहारमा रिलिज गर्ने योजना भए पनि फिल्मको छायांकन नसकिएकाले रिलिज हुन नसकेको जानकारी दिए। 'हलवालाहरूसँगको सल्लाहमा फिल्म माघ २६ गते रिलिज हुने तय भएको छ,' उनले भने।
श्वेताको 'कान्छी'सँगको सम्भावित भिडन्तका बारेमा भुवनले नेपाली फिल्म जुध्नु नराम्रो भएको र प्रयास सकेसम्म नजुधाउने नै भए पनि मजबुरीका कारण फिल्म जुध्ने अवस्था आएको स्पष्टीकरण दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।