रोम– इटालियन क्लब बेनेभेन्तोले युरोपकै खराब रेकर्ड बनाएको छ। इटालियन फुटबल लिग सिरी एको नवप्रवेशी बेनेभेन्तोले सबैभन्दा खराब सुरुवात गरेको हो। बेनेभेन्तोले सिरी एमा अहिलेसम्म खेलेका १३ वटै खेलमा पराजय भोगेको छ।
आइतबार भएको लिगको १३औं खेलमा बेनेभेन्तोलाई सासुओलोले २–१ ले पराजित गर्यो। मार्टीले ५७ मिनेटमा गोल गरेर सासुओलोलाई अग्रता दिलाए। ६५ मिनेटमा बेनेभेन्तोका अर्मेन्टेरोसले गोल गरेर खेललाई बराबरीमा ल्याए। दुई मिनेटपछि लेटिजियाले रातो कार्ड पाउँदै मैदान छाडेपछि बेनेभेन्तो १० खेलाडीमै सीमित बन्यो। खेलको अन्तिम मिनेटमा पेलुसोले गोल गरेपछि सासुओलोले जित निकाल्यो। तर बेनेभेन्तो भने खराब रेकर्ड आत्मसाथ गर्न बाध्य भयो।
यसअघि खराब सुरुवात गर्ने रेकर्ड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको नाममा थियो। युनाइटेडले सन् १९३०–३१ को सिजनमा लगातार १२ खेलमा हार बेहोरेको थियो।
बेनेभेन्तोले खराब रेकर्ड बनाएको खेलमा साबिक विजेता युभेन्टस पनि पराजित भएको छ। युभेन्टसलाई साम्पडोरियाले ३–२ ले पराजित गरेको हो। लिगमा १३ चरणको खेल सकिदा नापोली ३५ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको इन्टर मिलानको ३३, तेस्रो स्थानको युभेन्ट्सको ३१ र चौथो स्थानको रोमाको ३० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।