काठमाडौं– आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो खेलमा सोमबार आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउसो पौने एक बजे थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिताअन्तगर्त अहिले केहिबेरमा मलेसिया र हङकङ तथा चीन र युएइबीच खेल सुरु हुनेछ।
एक महिना छोटो तयारी गरे पनि नेपालले छनोट हुने लक्ष्य बनाएको छ। तयारीका लागि बंगलादेश भ्रमणमा जानुअघि नेपालका प्रशिक्षक सामसनजंग थापाले शीर्ष २ मा रहेर टी–२० विश्वकप छनोट खेल्ने लक्ष्य रहेको बताएका थिए।
अघिल्लो वर्ष खराब प्रदर्शन गरेको नेपाली टिमका लागि थाइल्यान्ड विरुद्धको पहिलो खेल चुनौतीपूर्ण छ। गत वर्ष नेपालले थाइल्यान्डसँग तीन खेल खेलेको थियो। नेपाल तीनै खेलमा पराजित भएको थियो। हङकङमा भएको महिला विश्वकप छनोटको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पनि थाइल्यान्डले नेपालमाथि १ विकेट झिनो अन्तरको जित निकालेको थियो। गत डिसेम्बरमा भएको महिला एसिया कप पनि पनि नेपाल कमजोर देखियो। खेलमा नेपाललाई थाइल्यान्डले ८ विकेटको फराकिलो अन्तरले हराएको थियो।
एक साता बंगलादेश तयारीपछि नेपाली टिम थाइल्यान्ड पुगेको छ। तयारीका क्रममा नेपाल खेलेका ४ मध्ये २ अभ्यास खेलमा विजयी भयो। पहिलो २ खेल जितेको नेपाल अन्तिम २ खेलमा पराजित भयो। अन्तिम अभ्यास खेलमा नेपाल ५४ रनले पराजित भएको थियो। ब्याटिङमा कमजोर देखिएको नेपाल १९.५ ओभरमा ५७ रनमा अलआउट भयो। पहिले ब्याटिङ गरेको बंगलादेशले ३ विकेटको क्षतिमा १ सय ११ रन जोडेको थियो।
रुबिना क्षेत्री कप्तान रहेको १४ सदस्यीय नेपाली टिममा दुई जना नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। टिममा दाङकी लक्ष्मी चौधरी र झापाकी रोमा थापाले पहिलो पटक स्थान बनाएका हुन् ।
छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्। छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।
नेपालको खेल
४ मंसिर – थाइल्यान्डविरुद्ध
५ मंसिर – हङकङविरुद्ध
७ मंसिर – युएईविरुद्ध
८ मंसिर– मलेसियाविरुद्ध
१० मंसिर – चीनविरुद्ध
नेपाली टिम
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, काजोल श्रेष्ठ, सवनम राई।
वैकल्पिक खेलाडी– कविता कुँवर, नितु भण्डारी, रेखा रावल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।