राजविराज– नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले हुकिङ तथा चुहावट नियन्त्रण गर्न अति विपन्न परिवारलाई मिटर वितरण गर्न थालेको छ।
जग्गा धनीपुर्जा र मिटर किन्ने रकम नहुँदा हुकिङ गर्ने प्रवृत्ति बढेकाले विद्युत मिटर वितरण गर्न थालिएको हो। ‘अति विपन्न तथा सांस्कृतिक महत्वका सम्पदालाई निःशुल्क विद्युत मिटर वितरण कार्यक्रम’ अन्तर्गत बुधबार क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले पहिलो मिटर राजविराज–१२ का भिखन सदालाई वितरण गरेका छन्।
‘कुनै पनि नागरिक उज्यालोबाट बन्चित नहुन र सुरक्षित रुपमा बत्ति बाल्न पाउन भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो,’ महतोले भने, ‘हुकिङ र चुहावट नियन्त्रण गर्नु पनि अभियानको अर्को उद्देश्य हो।’
सबैले मिटर पाए चोरी गर्ने प्रवृत्ति घटदै जाने र दुर्घटना पनि घट्ने उनको विश्वास छ।
राजविराज नगरपालिकाका ९१, डाकनेश्वरी नगरपालिकाका ३२, छिन्नमस्ता गाउँपालिकाका १ सय ९१, विष्णुपुर गाउँपालिकाका २३, रुपनी गाउँपालिकाका १ सय १ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी बुधबार मात्रै ४ सय ४३ जनालाई मिटर वितरण गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिए।
सप्तरीमा १ हजार ५ सय मिटर वितरण गर्ने लक्ष्य राखिए पनि मागको अनुपात बढ्दै गएर संख्या थपिन सक्ने उनको भनाइ छ।
‘हुकिङ गर्दा एकातर्फ पक्राउ पर्ने र जरिवाना तिर्नुपर्ने डर छ भने अर्कोतर्फ दुर्घटनामा परेर ज्यानै गुमाउनु पर्ने र अपाङ्ग हुनुपर्ने डर पनि उतिकै रहन्छ,’ साहले भने, ‘अहिले पनि सप्तरीमा धेरै विपन्न परिवार हुकिङ गरेरै बिजुली उपभोग गरिरहेका छन्। त्यस्ता सबै परिवारमा मिटर पुर्याएर सुरक्षित बनाउने हाम्रो प्रयास रहन्छ।’
कार्यक्रम अन्तर्गत ५–३० एम्पिएर क्षमताको बक्ससहित सिंगल फेज इनर्जी मिटर र एमसीबी बक्स निःशुल्क उपलब्ध गराइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।