काठमाडौं– अफगानिस्तानले एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार मलेसियामा भएको फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले पहिलो पटक युथ एसिया कपको उपाधि जितेको हो।
अफगानिस्तानले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२.१ ओभरमा ६३ रनको कमजोर योगफलमा अलआउट भयो। पाकिस्तानको इनिङ ध्वस्त पार्ने क्रममा अफगानिस्तानका मुजिब उमर रहमानले ५ विकेट लिए। रहमानले नेपाल विरुद्धको सेमिफाइनलमा पनि ६ विकेट लिएका थिए। रहमानले प्रतियोगितामा सर्वाधिक विकेट लिने क्रममा २० विकेट लिए। उनी प्रतियोगिताको म्यान अफ दि सिरिज घोषित भए।

पाकिस्तानलाई सस्तैमा समेट्न अफगानिस्तानका क्वाइस अहमेदको ३ विकेट पनि महत्वपूर्ण रह्यो। पाकिस्तानका लागि मोहमद ताहाले सर्वाधिक १९ रन जोडे।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभर पूरै खेलेर २ सय ४८ रन जोड्यो। अफगानिस्तानका लागि एक्राम अली खिलले १ सय ७ रन जोडे। उनले ११३ बलमा १० चौक र २ छक्का प्रहार गरे।
अफगानिस्तानले नेपाललाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। पाकिस्तानले भने सेमिफाइनलमा बंगलादेशमाथि जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।